आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं,  १२ चैत ।  आयरल्यान्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएकाे छ ।

पहिलो अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ टीममाथि नेपालले ६ विकेटको सहज जित निकालेको हो । आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३७ रन जोडे । ३७ रनमा ३ विकेट गुमाएको नेपाललाई कुशलले सन्दीप जोरासँग मिलेर ५४ रनको साझेदारी गरेका थिए । सन्दीप ३६ रनमा बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहँदा आसिफ शेख १६, गुल्सन झा ४ र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए । बलिङमा आयरल्यान्डका ग्यारेथ डेल्नीले २, बेन व्हाइट र टम मेयसले एकएक विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा जोडेको थियो ।

आयरल्यान्डका स्टेफन डोहेनीले सर्वाधिक ४६, टम मेयस र लियाम मकार्थीले १६–१६ र फिओन ह्यान्डले ११ रनको योगदान दिएका थिए । बलिङमा नेपालका कुशल भुर्तेल, ललित राजवंशी र गुल्सन झाले दुईदुई, करण केसी र कुशल मल्लले एकएक विकेट लिए ।

टी–२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड ‘ए’ टीमसँगको दोस्रो खेल मंगलबार खेल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्