१० बैंकको अन्तर्राष्ट्रिय लेखापरीक्षण प्रक्रिया सुरु, चैत २५ सम्म आवेदन माग

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं। नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण अघि बढेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सहयोगमा गरिन लागेको बाह्य लेखापरीक्षणका लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षकहरुबाट आवेदन मागेको छ। अन्तर्राष्ट्रि लेखापरीक्षकहरुको आवेदन मागसँगै अब नेपालका ठूला १० बैंकले बाह्य लेखापरीक्षण हुनेछ।

अहिले नेपालमा २० वाणिज्य बैंक छन्। आईएमएफले गत वर्षदेखि नै नेपालका बैंकहरुको अन्तर्राष्ट्रिय लेखापरीक्षण गराउनुपर्ने भन्दै नेपाल राष्ट्र बैंकलाई दबाब दिँदै आएको थियो। खासगरी बैंकहरुले प्रवाह गर्ने कर्जाको गुणस्तर मूल्यांकन गर्न अन्तर्राष्ट्रिय लेखापरीक्षण गर्न लागिएको हो।

छानिएका बाह्य लेखापरीक्षकले छानिएका बैंकहरुको धितो मूल्यांकन, कर्जा भुक्तानीका क्रममा कर्जा लिने परिपाटी (कर्जा हरितीकरण) गरेनगरेको, समूहगत कर्जाको अवस्था, कर्जा विकेन्द्रित भएनभएको अवस्था लगायतको परीक्षण गर्नेछ। लामो समयदेखि नेपालका बैंकहरुले कर्जा नवीकरण गर्दा बैंकबाट पुनः कर्जा लिने गरेको भनेर आलोचना हुँदै आएको छ।

आईएमएफले विस्तारित कर्जा सुविधा (ईसीएफ) दिँदा नेपालका बैंकहरुको बाह्य लेखापरीक्षण गर्नुपर्ने शर्त राखेको थियो। त्यो शर्तलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वीकारेका थिए।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षकहरुलाई  आगामी चैत २५ (अप्रिल ७)गते १२ बजेभित्र आवेदन दिन भनेको छ। बाह्य लेखापरीक्षक छनोट गर्दा योग्यतालाई ५० प्रतिशत, अनुभवलाई ४० प्रतिशत र क्षमतालाई १० प्रतिशत अंकभार दिने राष्ट्र बैंकले आह्वान गरेको सूचनामा छ। कम्तीमा ७० प्रतिशत अंक प्राप्त गर्ने आशयपत्र मात्रै बोलकबोल प्रतिस्पर्धामा सहभागी हुने पनि राष्ट्र बैंकले बताएको छ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्