काठमाडौं, ७ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हेटौँडा र उदयपुर सिमेन्ट उद्योगलाई सहज रुपमा सञ्चालमा ल्याउन आवश्यक उपायहरुको खोजि गरिने बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योथ तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भण्डारीले अहिले उक्त उद्योगलाई सरकारले सहज रुपमा सञ्चालन गर्ने अवस्था र बन्द गर्ने पनि अवस्थामा नरहेको भन्दै सञ्चालमा ल्याउन आवश्यक उपायहरुको खोजि गरिने बताउनुभएको हो ।
आयातमूखी व्यापारघाटाहरुलाई न्यूनिकरण गर्न पनि उद्योगहरुलाई सहज रुपमा सञ्चालन गर्नुपर्ने अवस्था रहेको उहाले बताउनुभयो ।
मन्त्री भण्डारीले उक्त उद्योगलाई सञ्चालमा ल्याउन, नाफामूखी बनाउन हरसम्भव प्रयास गर्ने जिकिर गर्नुभयो । उहाले उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तर तथा बजारीकरणमा कुनै कमी नभए पनि त्यसले व्यहोर्नुपरेको घाटाका बारेमा अध्ययन गरेर एउटा निर्णयमा पुग्ने बताउनुभयो ।
सरकारले सञ्चालन गरेका उद्योगलाई थप बलियो बनाउँदै विदेशिएको जनशक्तिलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने मन्त्री भण्डरीको भनाइ छ ।
बैठकमा समिति सदस्यहरुले निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग नाफमा जाने तर सरकारले सञ्चालन गरेका सिमेन्ट उद्योग घाटामा जाने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखेका थिए । समिति सभापति अव्दुल खाँनले उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमा उल्लेख भए अनुसार समयसापेक्ष क्षमता बढाउने र बजारसंग प्रतिष्पर्धी बनाएर सुधार गरेको खण्डमा उक्त उद्योगहरु सहज रुपमा सञ्चालन हुन सक्ने बताउनुभयो ।











