३२ वर्षपछि ‘जमाई राजा’ को रिमेक

खबर बुक
  • ख-
  • ख+

मुम्बई, ४ कात्तिक।।बलिउडमा भलै रिमेक फिल्म फ्लप भए पनि निर्माताले रिमेक गर्ने कामलाई छोडेका छैनन् । यही क्रममा सन् १९९० मा रिलिज हिट फिल्म ‘जमाई राजा’ को पनि रिमेक हुँदैछ । अनिल कपूर र माधुरी दीक्षित स्टारर यो फिल्म ३२ वर्षपछि रिमेक हुन लागेको हो ।

इन्टरटेनमेन्ट कम्पनी शेमारु र इन्डिया मिडिया इन्टरटेनमेन्ट नेटवर्क (आईएमईएन) ले यसको रिमेक गर्ने निर्णय लिएको हो । यो फिल्म यसअघि तेलुगुमा सन् १९८९ मा ‘अट्टाकु यामुदु अम्मायिकी मोगुदु’ नाममा निर्माण भएको थियो । जसमा चिरञ्जीवी र विजयाशान्तिको अभिनय थियो । फिल्मले सासू र ज्वाइँको विवादको कथा बोल्छ । फिल्म तमिल, हिन्दी र बङ्ला भाषामा पनि रिमेक भएको थियो । हरेक भाषामा फिल्म सुपरहिट भएको थियो ।

शेमारुले नयाँ पुस्ताका दर्शकलाई लक्षित गर्दै कथामा केही परिवर्तन गरेर निर्माण गर्ने जनाएको छ । निर्माण कम्पनीले कुन कलाकार र निर्देशकलाई लिएर फिल्म रिमेक गर्ने भन्ने विषयमा केही जानकारी दिएको छैन । तर फिल्ममा नयाँ कलाकार र निर्देशक लिइने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्