काठमाडौं, ६ चैत । टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा उपाधि दावेदार हेल्प नेपालले ढोरपाटनलाई २५–१८, २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गर्यो । हेल्प नेपालले क्वाटरफाइनलमा समूह ‘सी’ को उपविजेता बुढानिलकण्ठ भलिबल क्लबसँग खेल्नेछ ।
त्यस्तै मंगलबार महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ३–० ले पराजित गर्यो । आर्मी २५–१६,२५–२३, २५–७ ले विजयी भएको हो । त्यस्तै महिलर्फको अर्को खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।











