साढे ३ करोड रुपैयाँको बिउ वितरणले आलु खेतीमा आकर्षण बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ चैत।जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन्।

यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ। बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ। ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरिरहेको छ।

आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ कृषि ज्ञान केन्द्र सक्रिय बनेको छ। पछिल्लो समय बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन्।

आलु खेती गर्दा बाँझो जमिन प्रयोगमा आउने हुँदा आलु खेतीको क्षेत्र विस्तार थालिएको हो। निर्वाहमुखी खेती गर्दै आएकोमा अब व्यावसायिक रुपमा गरिने भएको हो।  कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई उन्नत जातका आलुको बिउ उपलब्ध गराउन थालिएको छ।

खाएन (खानका लागि) र बिउका लागि गरी दुई थरि आलु कृषि ज्ञान केन्द्रले किसानलाई वितरण गरिरहेको छ। बागलुङलाई आलुमा आत्मनिर्भर बनाई किसानलाई आयआर्जनसँग जोड्न यस वर्ष आलु खेतीको क्षेत्र विस्तार  गरिएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार मगरले जानकारी दिए।

उनका अनुसार १५० हेक्टर क्षेत्रफलमा खाएन र बिउ आलु लगाइनेछ। बिउका लागि ढोरपाटन र ताराखोलाको आलु तथा खाएनका लागि काभ्रेबाट आलु लिएर वितरण गरिएको पुन मगरको भनाइ छ।

१३९ हेक्टरमा खाएन र १० हेक्टरमा ‘बिउ आलु’ लागाइने उनले बताए। जिल्ला भरका किसानलाई २ लाख २२ हजार २०० किलो आलु वितरण गर्ने तयारी रहेको पुन मगर बताउँछन्। हालसम्म ७४ वटा कृषि समुह तथा सहकारीले सम्झौता गरेका छन्।

हाल बागलुङमा ३ हजार ६ सय ५५ हेक्टरमा आलुखेती हुँदै आएको छ। यस वर्ष खेती गर्ने क्षेत्रफल बढ्ने छ। वर्सेनि ५९ हजार ६५० टन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्