संखुवासभा। संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ। आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको काम ७० प्रतिशत सम्पन्न भएको हो।
आयोजनाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा दोभानमा बाँध धमाधम निर्माण भइरहेको छ।
जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नुपर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खनिसकिएको सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए। बाँधस्थलबाट विद्युत् गृहसम्मको ११ किलोमिटर सुरुङ यसअघि नै खुलिसकेको छ। यसैगरी चिचिला गाउँपालिका–३, पुखुवा दोभानमा धमाधम विद्युत्गृह निर्माण भइरहेको छ।
परियोजनामा कुनै अवरोध नभएमा अबको करिब दुई वर्षमा सम्पूर्ण निर्माण सम्पन्न हुने बताइएको छ। परियोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ। परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने पिडिएमा उल्लेख गरिएको छ। पिडिएअनुसार परियोजनाबाट १ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर स्थानीयलाई दिइनेछ।











