काठमाडौँ, २८ फागुन ।पछिल्लो २ वर्षयता लघुवित्तका ऋणीहरु संस्थाबाट पीडित भएको भन्दै आन्दोलनमा छन्।
खासगरी तराई र भित्रिमधेश अर्थात् हुलाकी राजमार्ग सडक आसपास पूर्वदेखि पश्चिमसम्म लघुवित्तका ऋणीको जमात बढी देखिन्छ। लघुवित्त संस्थाबाट पीडित भएको भन्दै मधेश प्रदेशबाटै आन्दोलन सुरु भएको थियो।
जुन आन्दोलन पछिल्लो समय काठमाडौंका सडक, माइतीघर मण्डला, नियामक निकाय नेपाल राष्ट्र बैंकको प्रवेशद्वार हुँदै सिंहदबार प्रवेशद्वार घेराउसम्म पुग्यो।
आन्दोलनको नेतृत्व २ वर्षअघिदेखि मनिराम ज्ञवालीले गरिरहेका छन्। उनले लघुवित्त विरुद्धको संघर्ष समिति नेपाल गठन गरेरै आन्दोलन सुरु गरेका हुन्।
उक्त समितिमा आबद्ध भएर आन्दोलनमा सहभागी भएमा ऋण मिनाह हुन्छ भन्ने आश्वासन उनले दिँदै आएका छन्। सोही आशमा लघुवित्तका ऋणीहरु आन्दोलन गर्न काठमाडौंसम्म पुगेका हुन्। संघर्ष समितिमा सबैभन्दा बढी अर्थात लघुवित्त संस्थाबाट पीडित बनेका कुल सदस्यमध्ये २० प्रतिशत मधेश प्रदेशबाटै रहेको लघुवित्त विरुद्धको संघर्ष समितिको तथ्यांक छ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा सञ्चालन अनुमति लिएका लघुवित्त संस्थाहरु अहिले ५७ वटा छन्। गत पुस मसान्तसम्म यी संस्थाहरुको शाखा संख्या ५ हजार १ सय २६ छन्।
यी सबै शाखाहरुमा ६० लाखभन्दा बढी सदस्य छन् भने २७ लाख ३६ हजार सदस्य ऋणी छन्। ऋणीमध्ये करिब २ लाख जना लघुवित्त संस्थाबाट पीडित भएको संघर्ष समितिको तथ्यांक छ। जसमध्ये सबैभन्दा बढी मधेश प्रदेशकै लघुवित्त संस्थाबाट पीडित भएर संघर्ष समितिमा आबद्ध भएको समितिका अध्यक्ष मनिराम ज्ञवाली बताउँछन्।
अहिले करिब २-३ हजार जना सदस्य रोटेसनमा सडक आन्दोलनमा रहेका सघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवाली बताउँछन्। सबैभन्दा बढी पीडित मधेश प्रदेशबाट ४० हजार जना र लुम्बिनी प्रदेशको ३५ हजार जना छन्।
सात प्रदेशमध्ये लघुवित्त संस्थाको शाखा संख्या कोशी प्रदेशमा ८ सय ७० छन्। मधेश प्रदेशमा १ हजार ५९, बागमती प्रदेशमा ७ सय ६९, गण्डाकी प्रदेशमा ५ सय ७६ र लुम्बिनी प्रदेशमा १ हजार १ सय ५३ शाखा छन्। त्यस्तै कर्णालीमा २ सय ३७ वटा र सुदूरपश्चिम प्रदेशमा ४ सय ६२ वटा शाखा सञ्चालनमा छन्।











