भाइरल प्रभावित क्षेत्रमा पुन: आकस्मिक स्वास्थ्य शिविर

न्युज कारखाना 
  • ख-
  • ख+

खोटाङ, ३ कात्तिक।।खोटाङमा भाइरलले सयभन्दा बढी स्थानीय बिरामी भएको ठाउँमा पुनः आकस्मिक शिविर सञ्चालन गरिएको छ ।

भाइरलले १०३ जना बिरामी परेको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बादेलमा दोस्रो पटक बुधबारबाट आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । दशैं अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर खाने लगायतका समस्या देखिने भाइरलले सयौं स्थानीय बिरामी परेपछि स्वास्थ्यचौकीसँगको समन्वयमा वडा कार्यालयले गत शुक्रबार स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

औषधि वितरण गर्दा पनि निको नभएका बिरामीलाई लक्ष्यित गर्दै स्वास्थ्यकर्मीसहित आकस्मिक स्वास्थ्य शिबिर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

भाइरलले थलिएका ४४ जना बिरामीको दोश्रोपल्ट स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरिएको छ । शिविरमा ल्याइएका दुई वृद्धा सहित चार जनालाई स्लाइन दिइएको छ ।

स्वास्थ्यकर्मीका अनुसार गम्भीर अवस्थाका छ जनालाई थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, ऐसेलुखर्क लैजान सुझाव दिइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

भाइरलले साविकको बाकाचोल–२ र ३ मा पर्ने बादेलका अधिकांश घरका स्थानीय बिरामी परेका छन् । अधिकांस बिरामीमा एकै प्रकृतिको स्वास्थ्य समस्या देखिएको वडाध्यक्ष नन्दकुमार तामाङले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रका डा। संगम न्यौपाने, ल्याव असिस्टेन्ट उमेश आचार्य, हेल्थ असिस्टेन्ट दिपेन्द्र मगर, स्वास्थ्य स्वयंसेविका रमिता राई लगायतको टोली सहित आकस्मिक स्वास्थ्य शिबिर आयोजना गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्