काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेटका नियमहरू (प्लेइङ कन्डिसन्स) मा महत्त्वपूर्ण परिवर्तन गरेको छ । नयाँ नियमअनुसार अब खेलको समय खेर फाल्ने ब्याटरको टोलीलाई ५ रनको जरिवाना (पेनाल्टी) लाग्ने भएको छ ।
खेलको गति बढाउनका लागि ब्याटरहरूमाथि कडाइ गरिएको हो । बलर बलिङ रन-अपको सुरुमा पुगिसक्दा स्ट्राइकिङ ब्याटर बलको सामना गर्न तयार भइसक्नुपर्नेछ । यदि ब्याटर निर्धारित समयमा तयार नभएर खेलमा ढिलाइ गरेमा बलर इन्डका अम्पायरले निम्न अनुसार प्रक्रिया अपनाउनेछन् :
पहिलोपटक ढिलाइ गर्दा: अम्पायरले ब्याटरलाई पहिलो चेतावनी दिनेछन् ।
दोस्रो पटक ढिलाइ गर्दा: ब्याटरलाई अन्तिम चेतावनी दिइनेछ।
तेस्रो र त्यसपछिका हरेक पटक: विपक्षी (फिल्डिङ) टोलीलाई पेनाल्टी स्वरूप ५ रन प्रदान गरिनेछ ।
टेस्ट तथा बहु-दिवसीय (मल्टी-डे) खेलहरूमा यो नियम हरेक ८० ओभरको ब्लकमा लागू हुनेछ र ८० ओभर समाप्त भएपछि चेतावनीको गणना पुनः शून्यबाट (रि-सेट) सुरु हुनेछ । यद्यपि, कुनै खेलाडी आउट भएपछि नयाँ ब्याटर क्रिजमा आउन पाउने २ मिनेटको समय भने यथावत राखिएको छ ।
महिला क्रिकेटका लागि छुट्टै बल
आईसीसीले महिला क्रिकेटका लागि पनि छुट्टै मापदण्डको बल प्रयोग गर्ने नियम ल्याएको छ । यसअघि महिला र जुनियर क्रिकेटका लागि प्रायः एउटै आकार र तौलको बल उत्पादन तथा प्रयोग गरिँदै आइएको थियो । अब भने पुरुष, महिला र जुनियर क्रिकेटका लागि तीन छुट्टाछुट्टै आकार र तौलका बलहरूको मापदण्ड निर्धारण गरिएको छ ।
अन्य मुख्य परिवर्तनहरू:
डे-टेस्टमा ‘पिंक बल’: अब दिउँसो खेलिने टेस्ट खेलहरूमा पनि आवश्यकताअनुसार ‘पिंक बल’ (गुलाबी बल) प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
दिनको अन्तिम ओभरमा विकेट खस्दा: बहु-दिवसीय खेलहरूमा दिनको अन्तिम ओभरमा विकेट खस्दैमा स्वतः दिनको खेल समाप्त (स्टम्प्स) हुने छैन, बाँकी बलहरू खेलाइनेछ ।
बल सेटल (डेड) भएको निर्णय: खेलको अन्तिम बल वा अन्य संवेदनशील अवस्थामा बल रोकिएको (सेटल भएको) निर्णय गर्ने अधिकार अम्पायरलाई थप स्पष्ट बनाइएको छ । यसका लागि बल अनिवार्य रूपमा बलर वा किपरकै हातमा हुनुपर्ने बाध्यता हटाइएको छ ।
रन-आउट र स्टम्पिङमा स्पष्टता: ब्याटरलाई रन-आउट वा स्टम्पिङ गर्नका लागि फिल्डर वा विकेटकिपरको बलमा पूर्ण नियन्त्रण हुनुपर्नेछ । बलले मात्र छोएर स्टम्पको गिल्ली (बेल्स) खस्दैमा रन-आउट वा स्टम्पिङ मानिने छैन । आईसीसीले परिमार्जन गरेका नयाँ नियमहरू आगामी सन् २०२६ को अक्टोबर १ देखि आधिकारिक रूपमा लागू हुनेछन् ।









