काठमाडौं, फागुन २२ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टीमका कप्तान तथा प्रशिक्षकले आगामी दिनमा कमीकमजोरीलाइ सुधार गर्दै अघि बढ्ने बताएका छन् ।
खेलपछि आयोजित पोष्ट म्याच कन्फ्रेन्समा उनीहरुले केहि कम रन बनाउदा पराजय भोग्नुपरेको भन्दै आगामी दिनमा व्याटिङ र बलिङलाई बलियो बनाउदै कमी कमजोरीलाई सुधार गर्ने बताएका हुन् । कप्तान रोहितकुमार पौडेलले खेलमा राम्रो भए पनि योजनाअनुसार फिनिसिङ नभएको बताए । उनले दुई सय रन बनाउने योजना भएपनि केहि कम रन बनेको जिकिर गरे । अहिलेका कमजोरीलाई विश्वकपसम्म सुधार गर्ने उनको भनाइ छ ।
त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइले प्रतियोगिताले आगामी दिनमा योजना कार्यान्वयन गर्नका लागि धेरै कुरा सिक्ने मौका पाएको बताए । प्रतियोगिताले विश्वकपको तयारीका लागि फाइदा उनको भनाइ छ ।
फाइनलमा नेदरल्याण्ड्सले नेपाललाई चार विकेटले पराजित गरेको हो । विजेता टीमलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ट्रफी प्रदान गर्नुभएको थियो ।











