गोदाममा थन्कियो ७५ करोडको दूध र घिउ

खबर बुक
  • ख-
  • ख
  • ख+

चितवन,१३ फागुन । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेका चितवन मिल्क उद्योग गत माघ २२ गतेदेखि बन्द छ।

प्रशोधन गरिएको नौनी घिउ (बटर) र धुलो दूध बिक्री नभएर भण्डारण गर्ने ठाउँ नभएपछि उद्योग बन्द भएको हो। उद्योगले डेरी, सहकारी र व्यावसायिक फर्महरूको दूध भाडामा प्रशोधन गर्ने गरेको थियो। पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छोडेपछि भण्डारमा थन्किएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले बताए।

उनका अनुसार ७५ करोड रुपैयाँभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ।

उद्योग बन्द भए पनि झण्डै १६ लाख रुपैयाँको बिजुली र १० लाख रुपैयाँ हाराहारीको डिजेल खर्च हुने गरेको उनले जानकारी दिए। योसँगै उद्योग सञ्चालन हुँदा ४० लाख रुपैयाँ हाराहारीको भुस प्रयोग हुने गरेको उनको भनाइ छ। प्रशोधन गरिएको घिउ ७ सय रुपैयाँ हाराहारी प्रतिकिलोमा बिक्री हुने गरेको छ।

ठाउँ अनुसार प्रशोधन गरेका संस्थाले दररेट तय गर्ने गर्दछन्। यस हिसाबले पनि ४० करोड रुपैयााभन्दा बढीको घिउ भण्डारणमा रहेको पराजुलीको भनाइ छ। उनका अनुसार २० हजार बोरा पाउडर दूध भण्डारण गरेर राखिएको छ।

पाउडर दूधले गोदाम, क्यान्टिन, घिउ तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएका पराजुलीको भनाइ छ। डेरी उद्योग र सहकारीलाई सामान लैजान ताकेता गरिरहे पनि नलगेपछि उद्योग सञ्चालन गर्नै नसकेर बन्द गरिएको उनले बताए। विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो। विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ। प्रतिलिटर पाउडर दूधको १ सय १३ र घिउ (बटर) को प्रतिकिलो ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्