काठमाडौं, ८ फागुन । नेपाली महिला फुटबल टोली पहिलोपटक पश्चिम एसियाको प्रतिष्ठित वाफ च्याम्पियनसिप खेल्दैछ। खेल आज साँझ ५ बजे सिरियासँग खेल्न लागेको छ।
मध्यपूर्व एसियाली फुटबलको हब बनिरहेको अवस्थामा नेपालले पनि त्यहाँ प्रतियोगिता खेल्ने अवसर पाएको हो। खेल साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा साँझ ५ बजे हुनेछ।
वाफले आमन्त्रित टोलीका रुपमा नेपाललाई सहभागी गराएको हो। समूहमा सहभागी टोली औसतका भए पनि नेपाली महिला फुटबलका लागि भने राम्रो अवसर हो।
नेपालले १० गते इराक र १२ गते प्यालेस्टाइनसँग खेल्नेछ। यी टोली नेपालभन्दा कमजोर मानिएका छन्। नेपाली महिला टोली गत शुक्रबार साउदी अरेबिया गएको छ।
गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्य टोली यसअघि नै मुख्य प्रशिक्षक राजेन्द्र तामाङले घोषणा गरेका थिए।











