हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्यान्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागिता जनाएको छ।
गत बुधबारदेखि थाइल्यान्डको सबैभन्दा चिसो सहर च्याङराईमा आयोजना भएको पाँच दिने फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष विक्रम बाडे र निर्देशक बीबी ढकाल सहभागी भएका हुन्।
कार्यक्रममा २० व्यावसायिक तथा ६० वटा मिनीसहित ८० वटा बेलुन उडाइएको थियो। नेपालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागिता थियो। कार्यक्रममा नेपालसहित विभिन्न बेलुनमा २० वटा मुलुकको राष्ट्रिय झन्डा फहराइएको निर्देशक ढकालले जानकारी दिए।
आइतबार समापन भएको कार्यक्रममा हरेक दिन विभिन्न किसिमका प्रतियोगितात्मक खेल आयोजना भएका थिए। पर्यवेक्षकको रुपमा बेलुन नेपालले सहभागिता जनाएको कम्पनीका निर्देशक ढकालले बताए।
कार्यक्रम अवधिमा खटिएका पाइलट र बलुन क्रूको सम्मानमा आइतबार साँझ बेलुन नेपालको संयोजनमा रात्रिभोजसहित ‘नेपाली नाइट’ आयोजना गरिएको थियो।











