सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित, एसिया कप खेल्न नपाउने

खबर बुक
  • ख-
  • ख
  • ख+

 काठमाडौँ, ४ फागुन । नेपाल एसीसी महिला प्रिमियर लिग क्रेकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ।

क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा घरेलु टोली मलेसियासँग नेपाल ४ विकेटले पराजित भएको हो।

पराजित भएसँगै नेपालले एसिया कप टी-२० क्रिकेट प्रतियोगिता पनि खेल्न नपाउने भएको छ। यसै वर्ष हुने महिला एसिया कपमा प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले एक बल बाँकी छँदै ६ विकेट गुमाएर रोमाञ्चक  जित निकाल्यो।

मलेसियाको जितमा इल्सा हन्टरले अविजित अर्धशतकीय योगदान गरिन्। ५३ बल खेलेकी उनले ६ चौकाको सहयोगमा ६९ रन बनाइन्।

नेपालकी सिता रानामगर र कविता जोशीले २/२, कविता कुँवर र रुबिना क्षेत्री बेल्बासेले समान एक/एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाइन्। डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्री बेल्बासेले २० रन बनाउँदा सिता रानामगर ६ र कविता जोशी २ रनमा आउट भए।

उपाधिका लागि मलेसियाले युएईको सामना गर्नेछ। शुक्रबारै भएको पहिलो सेमिफाइनलमा थाइल्याण्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुगेको हो।

प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्