तीन विकासे मन्त्रालयले गत वर्षको तुलनामा बढाए खर्च, सहरी मन्त्रालय अक्षम

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, २९ माघ । गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको ६ महिना (पुससम्म) विकासे मन्त्रालयले खर्च बढाएका छन्।

चार वटा विकासे मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानी र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमध्ये सहरीको भने खर्च घटेको छ। 

बाँकी तीन विकासे मन्त्रालयको खर्चमा चालू आवको ६ महिनामा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा सुधार भएको देखिन्छ। सबैभन्दा बढी बजेट रहेको भौतिक मन्त्रालयले चालू वर्ष विनियोजित बजेटमध्ये १८.७६ प्रतिशत खर्च गरेको छ। 

चालू आवमा भौतिक मन्त्रालयलाई १ खर्ब ३३ अर्ब ५५ करोड ३० लाख रुपैयाँ विनियोजन भएको थियो। पुससम्म २५ अर्ब ४ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ। गत आर्थिक वर्ष भौतिक मन्त्रालयलाई कुल १ खर्ब ६१ अर्ब ५६ करोड ७२४ लाख विनियोजन भएकामा ६ महिनामा २६ अर्ब १५ करोड ६९ लाख रुपैयाँ (१६.१९ प्रतिशत) खर्च भएको थियो। 

त्यस्तै, ऊर्जा मन्त्रालयलाई चालू आवमा २८ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ विनियोजन भएको छ। यसमध्ये पुससम्म ९ अर्ब ३ करोड ८४ लाख रुपैयाँ अर्थात् ३१.६४ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक चालू आर्थिक वर्षको अर्धवार्षिक मूल्यांकनमा उल्लेख छ। 

ऊर्जा मन्त्रालयमा गत आवमा ४० अर्ब ८४ करोड ४६ लाख रुपैयाँ विनियोजन भएको थियो। यसमध्ये ६ महिनामा १० अर्ब १४ करोड ८३ लाख अर्थात् २४.८५ प्रतिशत खर्च भएको छ। 

खानेपानी मन्त्रालयमा चालू वर्ष १३ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ बजेट मध्ये २ अर्ब ६१ करोड ९८ लाख रुपैयाँ अर्थात् १९.४९ प्रतिशत खर्च भएको छ। गतवर्ष खानेपानीमा २० अर्ब १० करोड ८३ लाख रुपैयाँ विनियोजन भएकामा ३ अर्ब ७५ करोड ७२ लाख रुपैयाँ अर्थात् १८.६६ प्रतिशत खर्च भएको थियो। 

तीन विकासे मन्त्रालयले खर्च बढाइरहँदा सहरी विकासको भने ६ महिनाको खर्च घटेको छ। सहरी मन्त्रालयमा चालू आवमा ४६ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ विनियोजन भएको छ। 

यसमध्ये पुससम्म ६ अर्ब ६२ करोड ४८ लाख रुपैयाँ अर्थात् १४.२६ प्रतिशत खर्च भएको अर्धवार्षिक मूल्यांकनमा उल्लेख छ। सहरी मन्त्रालयलाई गत आवमा ३८ अर्ब ७३ करोड ९४ लाख विनियोजन भएकामा ५ अर्ब ९० करोड ३८ लाख रुपैयाँ अर्थात् १५.२५ प्रतिशत खर्च भएको थियो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्