काठमाडौं, १७ माघ । एथरका लागि नेपालको आधिकारिक वितरक वैद्य इनर्जीले शुक्रबारदेखि स्कुटरको मूल्य १९ हजार ९ सय ९९ रुपैयाँसम्म बढाउने भएको छ।
कम्पनीले गत नोभेम्बर ५ मा नेपाली बजारमा आएको एथर स्कुटरलाई हालसम्म ‘इन्टडक्टरी’ मूल्यमा दिइएको जनाएको छ। कम्पनीले एथर ४५० एक्स २.९ किलोवाटको मूल्य ३ लाख ८५ हजार ५ सयबाट ३ लाख ९९ हजार ९ सय र एथर ४५० एक्स ३.७ किलोवाटको ४ लाख २० हजारबाट ४ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ बनाउन लागेको हो।
हाल नेपाली बजारमा एथर ४५० एक्सका दुई भेरियन्ट उपलब्ध छन्। २.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको भेरियन्टले फुल चार्जमा १ सय ११ किलोमिटर रेन्ज दिन्छ भने यसको फुल स्पिड ९० किलोमिटर प्रतिघन्टा छ।
यो ३.३ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ। त्यस्तै, ३.७ किलोवाट आवर ब्याट्री क्षमता भएको भेरियन्टले फुल चार्जमा १ सय ५० किलोमिटर रेन्ज दिन्छ। ९० किलोमिटर प्रतिघन्टा टप स्पिड भएको यो स्कुटर ३.३ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन सक्छ।
अत्याधुनिक डिजिटल सिस्टममा बनाइएका यी स्कुटरमा ७ इन्चको टच स्क्रिन डिस्प्ले छ। यसको मद्दतमा चालकले सजिलैसँग फोन कल गर्न, गीत सुन्न, गुगल म्याप प्रयोगलगायत काम गर्न सक्छ। त्यस्तै, यसमा हिल होल्ड एसिस्ट, रिभर्स गियरलगायत फिचर छन्।
यो वर्षभित्रै कम्पनीले ४५० एस, एपेक्स ४५० एक्स र फेमेली स्कुटर ल्याउने तयारी गरेको छ।











