काठमाडौं, १३ माघ ।सरकारले ०८१ वैशाख १६ र १७ मा आयोजना गर्ने घोषणा गरेको तेस्रो लगानी सम्मेलनको तयारीस्वरूप नीति निर्माण, निजी क्षेत्र, विकास साझेदारलगायतसँगको छलफललाई बाक्लो बनाएको छ।
सोहीअनुसार लगानी बोर्ड कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषयक कार्यशाला गोष्ठी आयोजना गरेको छ।
कार्यशालामा नेपालमा लगानी वातावरण सुधारका लागि कानुनी, प्रक्रियागत तथा नियामकीय सुधार एवं विदेशी लगानी, निजी लगानी आकर्षित गर्न नवप्रवर्तनमा आधारित पहलका विषयमा विभिन्न क्षेत्रका विज्ञले नेपालको आर्थिक विकासका लागि लगानी सम्मेलन आयोजना गरिनु सकारात्मक रहेको प्रतिक्रिया दिए।
लगानी सम्मेलनमार्फत विदेशी पुँजी भित्र्याउन सके नेपालको विकासले कोल्टे फेर्ने उनीहरुको भनाइ छ। यसै बेला लगानी सम्मेलन आयोजना गर्ने सम्बन्धमा नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार तथा विज्ञबीच छलफल गर्ने क्रम बाक्लिएको छ।
कार्यशालामा सहभागी भएका अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष डा. प्रकाशशरण महतले अर्थतन्त्रका हरेक क्षेत्रमा अथाह सम्भावना उजागर हुन बाँकी रहेको उल्लेख गरे। उनले त्यसका लागि थप लगानी आवश्यक रहेकामा जोड दिए।











