राष्ट्रिय वाणिज्य बैंकले वार्षिकोत्सव मनायो, पुँजी कोष ५० अर्ब नाघ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, १० माघ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक स्थापनाको ५९औं वर्ष प्रवेश गरेको छ। सरकारको पूर्ण स्वामित्वमा २०२२ माघ १० मा स्थापना भएको बैंकले हाल आधुनिक बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको बताएको छ।

२०८० असार मसान्तसम्म बैंकको अधिकृत सेयर पुँजी ३० अर्ब, जारी र चुक्ता सेयर पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ। बैंकको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत सेयर रहेको छ। बैंकको पुँजी कोष ५० अर्ब ७४ करोड रहेको छ।

गत असार मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ। गत पुस मसान्तसम्म बैंकमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको ३ खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ। कर्जातर्फ एक लाख ९४ हजार बढी ग्राहकलाई दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैंकले जनाएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा बैंकले तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो। गत वर्ष बढी खुद मुनाफा आर्जन गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा छ। गत वर्षमा आर्जित मुनाफाबाट बैंकले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

संघीय सरकारका कुल ८१ कोष तथा लेखा नियन्त्रक कार्यालयमध्ये ५० वटा, प्रदेश सरकारका ७७ मध्ये ५१ र एक सय २८ स्थानीय तहको सम्पूर्ण खर्च भुक्तानी तथा सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट भइरहेको छ। 

बैंकले गत आर्थिक वर्ष सरकारलाई दुई अर्ब १८ करोड आयकर तिरेको थियो। बैंकको शाखा सञ्जाल ७७ वटै जिल्ला सदरमुकामसहित दुई सय ८६ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्