काठमाडौं, २६ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले भारतसंग भएको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति मुलुकको हितमा रहेको बताउनुभएको छ ।
सिहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री बस्नेतले भारतसंग भएको सहमति मुलुकको हितमा रहेको र विद्युत् निर्यातको अन्य बिषय छलफलमा रहेको जानकारी दिनुभयो ।
उहाले १० वर्षमा १० हजार भन्दा बढि मेगावाट उत्पादन गर्ने योजनाका साथ नै सम्झौता भएको जिकिर गर्नुभयो । मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजना नै तयार भएको धारणा राख्नुभयो ।
१५ महिनामा एक हजार मेगावाट विधुत उत्पादन गर्न सफल भएको अवस्थामा १२ वर्षमा २८ हजार मेगावाट उत्पादन सम्भव रहेको उहाले बताउनुभयो । मन्त्री बस्नेतले अहिले पिक आवरमा २ हजार मेघावाट आन्तरिक खपत रहेको र १० बर्षमा १५ हजार मेघवाट दैनिक आन्तरिक खपतमा पुराउने दावी गर्नुभयो ।
मन्त्री बस्नेतले विधुत उत्पादनसंगै ट्रान्समिटरलाईन, सवस्टेशन लगाएत पूर्वाधारका काम पनि संगसंगै अघि बढाउने बताउनुभयो ।










