१४ पुस, काठमाडौं ।सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सार्वजनिक भएको छ।सरकारले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सार्वजनिक गरी सुझावसमेत माग गरेको छ। विधेयकमा सरकारले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्मबाट हुने साइबर अपराधदेखि अनलाइन प्लेटफर्म दर्ताको विषयलाई समेटेको छ।
सरकार विधेयकमार्फत अनलाइन प्लेटफर्म र सामाजिक सञ्जाल प्रयोगमाथिको कडाइमा कठोर बनेको देखिन्छ। विधेयकमा अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालबाट कसुर गर्नेलाई ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।
यस्तै कसैलाई दुरुत्साहन गर्ने, षड्यन्त्र गर्ने वा त्यस्तो कसुर गर्न सघाउने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ। कुनै कसुर एक पटकभन्दा बढी गर्ने कसुरदारलाई पटकैपिच्छे दोब्बर जरिवाना हुने व्यवस्था गरिएको छ।











