दोलखामा पुस १३ गतेदेखि १० दिने बृहत् महोत्सव हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि दोलखा सदरमुकाम चरिकोटमा हुने बृहत दोलखा महोत्सवको तयारी पुरा भएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोलखा उद्योग वाणिज्य संघले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

दोलखा महोत्सवको दिव्यदृष्टी, आर्थिक क्रान्तिको नयाँ सृष्टि भन्ने नाराका साथ संघको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा १० दिने बृहत दोलखा महोत्सव हुन लागेको हो। पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले महोत्सवको उद्घाटन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने जानकारी दिनुभयो । उहाँले महोत्सवमा १५० वटा स्टल राखिने र त्यहाँ स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवर्द्धन गरिने बताउनुभयो ।

स्टलहरुमा दोलखाका सबै स्थानीय तहहरु, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरु, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादनलगायत प्रदर्शनीमा राखिने पनि उहाँले बताउनुभयो । त्यस्तै अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पर्यटकको स्वागतका लागि स्ट्रिट फुड फेस्टिभलको आयोजना पनि गरिने उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा कलाकारहरुको साँस्कृतिक प्रस्तुतिका साथै विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरु र विद्यालयस्तरीय प्रतियोगिताहरु पनि सञ्चालन हुने जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्