काठमाडौं, ८ पुस । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा काेशी प्रदेश लगातार तेस्राे खेलमा विजयी भएकाे छ ।
आज आइतवार भएकाे खेलमा काेशीले मधेस प्रदेशलाई ६० रनले हरायाे । काेशीले दिएकाे १ सय ३० रनकाे लक्ष्य पछ्याएकाे मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६९ रनमात्र बनाउन सक्याे । मधेसका लागि साना प्रवीनले सर्वाधिक २७ रन बनाइन् । बलिङतर्फ काेशीकी सबनम राई र एलिशा खडियाले समान २ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे काेशीले २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनायाे । काेशीका लागि कप्तान रुबिना क्षेत्रीले ५७ र अप्सरी बेगमले ३९ रन बनाइन् । बलिङतर्फ मधेसकी मिना महताेले २ विकेट लिइन् ।
याे जितसँगै काेशी ३ खेलमा ६ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । मधेस लगातार तेस्राे हारसहित तालिकाकाे साताैँ स्थानमा छ ।
यस्तै, आजै भएकाे अर्काे खेलमा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले लगातार तेस्राे खेलमा विजयी भएकाे छ ।
एपीएफकाे जितमाे इन्दु बर्माले अलराउन्ड प्रदर्शन गरिन् ।
आज आइतवार भएकाे खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ९० रनकाे फराकिलाे अन्तरले हरायाे । एपीएफले दिएकाे १ सय ५२ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६१ रनमात्र बनाउन सक्याे । लुम्बिनीका लागि लक्ष्मी चाैधरीले सर्वाधिक २८ रन बनाइन् । बलिङतर्फ एपीएफकी इन्दु बर्माले ३ तथा बिनु बुढाले २ विकेट लिइन् ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रन बनायाे । एपीएफका लागि इन्दु बर्माले ५१ बलमा ७० रन बनाइन् । यस्तै ममता चाैधरीले ५९ रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी सरस्वती पुन र शर्मिला राेक्काले समान १ विकेट लिइन् ।
याे जितसँगै एपीएफ ३ खेलमा ६ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । लुम्बिनी ३ खेलमा २ अङ्कसहित छैटाैँ स्थानमा छ ।











