१४ किलो सुन तस्करी प्रकरण सम्बन्धमा गठित छानिबन समितिद्धारा प्रतिवेदन सार्वजनिक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ८ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणका सम्बन्धमा गठित छानिबन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।

समितिले १४ किलो अवैध सुन ल्याउने व्यक्तिहरूको ट्राभल हिस्ट्री अध्ययन तथा कल डिटेल एनालाइसिस गरी संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्यादेश पाएको थियो ।

यस्तै समग्र सूचना तथा तथ्यांकहरुको विश्लेषण गरी राय सुझाव पेस गर्ने, विमानस्थलमा कार्य सञ्चालन गर्ने निकायहरूको ड्युटी तालिका लिई अध्ययन तथा विश्लेषण गर्ने र आवश्यकताअनुसार अन्य कार्यहरू गर्ने समेतको कार्यादेश पाएर समितिले अध्ययन थालेको थियो ।

जसअनुसार सीसीटीभी फुटेज एनालाइसिसका साथै फोनदेखि सामाजिक सञ्जालका मेसेन्जहरुको सम्पूर्ण डिटेलहरू समितिले अध्ययन गरेको थियो । यस्तै मोबाइल, स्थलगत अनुसन्धानमा रेकर्ड गरिएका भिडियो एवम् अन्य आवश्यक वस्तुहरुलाई पनि आरोपीहरूको लिखित बयानमा सनाखत गरिएको थियो ।

यस्तै संकित तथा संलग्न व्यक्तिहरूको यात्रा विवरण, सीसीटीभी फुटेज तथा कर्मचारीहरूसँग सम्बन्धित जब डिस्क्रिप्सनलगायतका तथ्यहरूको पनि विश्लेषण गरिएको थियो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको उक्त छानबिन समितिले मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । १४ किलो सुन तस्करी प्रकरणमा छानबिन गर्दा यति धेरै सुन तस्करी भएको निष्कर्ष समितिले निकालेको हो ।

समितिले घलेले दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ । घले स्वयं तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ ।

यस्तै मीन घलेले एयरपोर्टको सेटिङ मिलाउन डिवी भनिने दन बहादुर गुरुङलाई प्रयोग गरेको देखिन आएको पनि समितिको ठहर छ । यस्तै एयरपोर्टबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्डयन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेक बहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर सेर बहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको समितिको भनाइ छ ।

भरियाले ल्याएको सुन एयरपोर्टबाट बाहिर निकालिसकेपछि रमेश देउला, राधा कृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडौँको बानियाटार स्थित सूर्यदर्शन हाइटमा रहेको डिवी गुरुङको घरमा पुर्‍याउने गरेको देखिएको समितिले जनाएको छ । उक्त सुन मीन बहादुर घले र उनका साथी जोन भन्ने जीवन गुरुङले अंकित अग्रवालले भनेको स्थानमा लगी दिने गरेको पनि खुलेको छ ।

गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखा, बारपाकका चन्द्र घलेको पक्राउ परेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्