काठमाडौं, ६ पुस । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशी सहायता सहयोग राष्ट्रको आवश्यकताका आधारमा खर्च गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित नेपालमा वैदेशिक सहायताको प्रभावकारीता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले जनताको पहुँचमा राष्ट्रको आवश्यकताका आधारमा विदेशी सहायता खर्च गर्नुपर्ने बताउनुभएको हो । उहाले विदेशी संघसंस्थाहरुको उद्देश्य पूरा गर्नका लागि छिटो खर्च गर्ने परिपाटीले कुनै पनि काम प्रभावकारी नहुन नसक्ने जिकिर गर्नुभयो ।
विदेशी सहायता सहयोग सरकारमार्फत संसदमा पेश गर्ने र जनप्रतिनिधि संस्था संसदबाट त्यसको प्रयोगको छलफल गर्दै कार्यान्वयनमा लैजानुपर्ने उहाले बताउनुभयो ।
उहाले वैदेशिक सहायता परिचालनको अनुगमन र निगरानी पनि संसदले गर्नुपर्ने धारणा राख्नुभयो । उहाले बिमानस्थल निर्माणमा ध्यान दिए पनि सहज रुपमा प्रयोगमा ध्यान दिन नसकिएको बताउनुभयो ।
विदेशी सहायताको जानकारी जनतालाई जानकारी गराए पारदर्शी हुने समेत उहाले बताउनुभयो ।













