बुटवल–नारायणगढ सडकको दूरावस्थाले ५० प्रतिशत व्यापार घटेको दावी

खबर बुक
  • ख-
  • ख+

बुटवल । बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम छिटो पूरा गर्न रुपन्देहीका ठूला लगानीका होटेल व्यवसायीहरुले माग गरेका छन् । सडकको दुरावस्थाले ५० प्रतिशत व्यापार घटेको दाबी गर्दै उनीहरुले सडक विस्तारको काम छिटो सक्न माग गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्ड विस्तारको बुटवलमा शिलान्यास गरेका थिए । ११४ किलोमिटर लामो यो सडक विस्तारको काम दुई वर्षमा पूरा गर्ने गरी चाइना स्टेट कम्पनीले ठेक्का पाएको छ ।

१७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा सुरु भएको विस्तारको काम सम्झौता अनुसार २०७९ साउनमा सकिनुपर्थ्यो । तर कोरोना महामारी र निर्माण सामग्री अभाव लगायतका कारण देखाएर २०८० भदौ ११ गतेसम्मका लागि म्याद थप गरिएको थियो । थप भएको समयमा पनि काम नसकिएपछि फेरि एक वर्ष म्याद थपिएको छ ।

साढे ४ वर्षको अवधिमा अहिले ४० प्रतिशत मात्र काम सकिएको छ । अहिले धुलो र खाल्डाखुल्डीले गर्दा यात्रा कष्टकर हुने गरेको छ ।

पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटेल व्यवसायीहरुको संस्था नेप्लिज होटेलियर्स एशोसिएसन ९एनएचए० लुम्बिनीले सडकको दूरावस्थाले व्यापार व्यवसायमा असर परेको निष्कर्ष निकालेको छ ।

हालै गठन भएको एशोसिएसनको पहिलो विस्तारित बैठकले सडकको दुरावस्थाका कारण रुपन्देहीको होटल व्यवसायमा ५० प्रतिशत गिरावट आएको दावी गर्दै सडक विस्तारको काम छिटो पूरा गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष प्रविणबहादुर पाठकले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्