धरौटी बुझाए पनि नक्कली भुटानी शरणार्थी प्रकरणका ३ आरोपी छुटेनन्

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ मंसिर । उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएका नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी आज पनि रिहा छुटेनन् ।

केन्द्रीय कारागारमा रहेका हरिभक्त महर्जन, शमशेर मियाँ र नरेन्द्र केसीलाई गत शुक्रबार उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार महर्जनले १५ लाख, मियाँ र केसीले १०र१० लाख रुपैयाँ धरौटी पनि बुझाएका थिए । तर उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ ।

उनीहरुलाई अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएकाले आज रिहा नभएकाे बताइएकाे छ ।

गत शुक्रबार उच्च अदालतले आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । उनलाई पनि अख्तियार र सम्पत्ति शुद्धीकरणमा बुझाउनुपर्ने भएकाले रिहा नगरेको केन्द्रीय कारागार स्रोतले बताएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएका मध्ये ९ जनालाई उच्च अदालतले थुनामा नराख्न आदेश दिएको छ ।

टोपबहादुर रायमाझी, इन्द्रजित राई, आङटावा शेर्पा लगायत ९ जनालाई थुनामा नै राख्न आदेश दिएको छ । त्यस्तै बालकृष्ण खाँणको हकमा भने दुई न्यायाधीशको राय बाझिएकाले तेस्रो न्यायाधीशको इजलासमा पुनः सुनुवाइ हुने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्