डलर महँगिएर फेरि नयाँ रेकर्ड

खबर बुक
  • ख-
  • ख
  • ख+

२६ कात्तिक, काठमाडौं । अमेरिकी डलर महँगिएर नयाँ रेकर्ड कायम भएको छ। आइतबार नेपाली रुपैयाँ अमेरिकी डलरसँग झनै कमजोर हुन पुगेको छ। अब १ डलर किन्न १३३.६५ रुपैयाँ खर्चिनुपर्ने भएको छ। डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।

नेपाल राष्ट्र बैंकले आइतबारलाई १ डलरबराबर १३३.६५ रुपैयाँ बिक्रीदर तोकेको छ। यस्तै खरिद दर १३३.०५ रुपैयाँ छ। एक वर्षयता  केही सामान्य उतारचढाव आए पनि गत असोज २ मा डलरको भाउ बढेर १३३.५४ र कात्तिक १६ मा १ डलरबराबर १३३.५७ रुपैयाँ कायम भएको थियो। असोजदेखि डलरको भाउ १३३ रुपैयाँबाट तल झरेको छैन्।

भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो। मंगलबार १ डलरबराबर ८३.३० भारु पुगेको भारतीय रिजर्भ बैंक (आरबिआई) ले जनाएको छ। डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो।

भारु र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा यसको असर पर्ने गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्