काठमाडौं, २३ कार्तिक । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ। प्राधिकरणले विद्युत महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ। विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि वक्यौता असुलीलाई अझै सशक्त बनाइने बताए। असूलउपर गर्नुपर्ने विद्युत महशुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महशुल नतिर्ने ग्राहकहरुको लाइन काटिरहेका छन्।
मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ।
यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ। लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असूली प्रक्रिया अगाडि बढाउने प्रावधान छ।











