भूकम्पका कारण एक सय ४३ जनाकाे मृत्यु, एक सय ६६ जना घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ कार्तिक ।  गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४३ जना पुगेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ३८ जना गरी एक सय ४३ जनाको ज्यान गएको हो ।

भूकम्पका कारण एक सय ६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन् । घाइतेमध्ये ७ जनालाई रुकुमको चौरजहारीबाट नेपाल एअरलाइन्सको ट्विनअटर जहाजमार्फत काठमाण्डौ ल्याइएको छ । अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।

तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् । नेपाल प्रहरीले आफ्ना आठ सय ६० जना जनशक्ति खटिएको जनाएको छ ।

गएरातिको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्