कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरूकाे सनाखत भाेलि

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ असोज । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदलाई बोलाउनुभएको छ ।

मुख्यमन्त्रीका लागि ४७/४७ जना सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि सांसदलाई बोलाउनुभएको हो । सनाखत भोलि शनिवार बिहान ८ देखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा हुनेछ ।

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेस गर्नुभएको छ । आङ्बोलाई गठबन्धनमा रहेका दल र कार्कीलाई नेकपा (एमाले) का सांसदले समर्थन जनाएका छन् । दुवै जनाले बहुमत सांसदको नाम पेस गरेपछि प्रदेश प्रमुख खापुङले सनाखतका लागि बोलाउनुभएको हो ।

प्रदेश प्रमुख खापुङको कार्यालयले निकालेको विज्ञप्तिमा प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसहित प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित हुन भनिएको छ । प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेपछि बहुमत पुर्‍याउने सांसदलाई मुख्यमन्त्रीमा नियुक्त गरिनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ । अहिले एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्