विश्व बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो, ब्यारेलको ८२ डलरसम्म कारोबार

खबर बुक
  • ख-
  • ख+

एजेन्सी। निरन्तर उकालो लागेर ब्यारेलको १ सय डलर नजिक पुगेको कच्चा तेलको भाउ फेरि घट्न थालेको छ। शुक्रबार विश्व बजारमा कच्चा तेलको मूल्य ब्यारलेको ८२ देखि ८६ डलरमा कारोबार भएको छ। एक साताको बीचमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ९८ डलरसम्म पुगेको थियो।

ब्रेन्ट क्रुडमा शुक्रबार कच्चा तेल ब्यारेलको ८४.१५ डलरमा कारोबार भण्एको छ। यस्तै मुर्बान क्रुडमा ८६.११ र डब्ल्युटिआई क्रुडमा ८२.४७ डलरमा झरेको आयल प्राइस डटकमले जनाएको छ। साउदी अरेबिया, रसिया र ओपेक प्लसले उत्पादन कटौती गर्दा विश्व बजारमा तेलको मूल्य बढिरहेको थियो। गत जुनदेखि कच्चा तेलको भाउ ब्यारेलमा ३० प्रतिशतसम्म बढेको थियो।

रुस–युक्रेन युद्ध सुरु भएपछि ब्यारेलको १ सय ४० डलरसम्म पुगेको कच्चा तेलको भाउ घट्दै आएको थियो। गत जुलाइमा कच्चा तेलको ब्यारलेको ७० देखि ७५ डलरमा कारोबार भएको थियो। कच्चा तेलको भाउ बढेर ब्यारेलको १ सय डलर पार गर्ने अनुमान गरिएको छ।

विश्लेषकका अनुसार साउदी अरबलाई आफ्नो महत्वाकांक्षी भिजन २०३० लाई पुरा गर्न तेलको मूल्य प्रतिब्यारेल न्यूनतम् ९० डलरमा चाहिन्छ। ओपेक र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी दुवैले यो वर्ष माग वृद्धि गति दैनिक २० लाख ब्यारेलभन्दा बढी हुने अनुमान गरेका छन्।

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ उकाले लागेकाले नेपालीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भार बोक्नु पर्ने अवस्था आएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ। विश्व बजारमा घट्न थालेकाले यसको सकरात्मक प्रभाव नेपाली बजारमा पर्ने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्