काठमाडौं। मोरङको बुढिगंगास्थित कोशी ग्यास उद्योगबाट बजारमा बिक्रीका लागि लगिएको सिल प्याक सिलिण्डरमा ग्यास नै नभएको पाइएपछि उक्त उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।
विराटनगर–९ ट्राफिक चोकमा उपभोक्ताले खरिद गरेको सिलप्याक सिलिन्डर खाली भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर आइतबार उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो।
विराटनगरस्थित कोशी ग्यासको डिलर न्यू हिमाल मार्केटिङ्गबाट खरिद गरेको ग्यास सिलिण्डर खाली भएको पाएपछि उपभोक्ताले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा गुनासो गरेका थिए।कार्यालयका प्रमुख हितेश बस्नेतसहितको टोलीले आइतबार अनुगमन गर्दा सिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्नेमा कोशीको १५ केजी ४ सय ग्रामको सिलिण्डरमा ग्यास नै नभरेको भेटिएको वाणिज्य कार्यालयले जनाएको छ।











