आर्थिक मन्दीबीच बुद्ध एयरले थप्यो एटिआर, जहाज संख्या १६ पुग्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ३० साउन ।निजी क्षेत्रको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले आर्थिक मन्दीबीच नयाँ एटिआर जहाज थपेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार नयाँ आउने जहाजको उडान अनुमति स्वीकृत गरेको हो।

स्वीकृति पाएसँगै शुक्रबार बुद्धको नयाँ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनेछ। बुद्धले १६औं जहाजका रूपमा `एटिआर७२–५००´ सिरिजको दर्ता नम्बर `९एन–एएनडब्लु´ जहाज ल्याउने भएको हाे। फ्रान्सको टुलुसबाट जहाज नेपाल ल्याउन लागिएको हो।

बुद्ध एयर स्राेतका अनुसार आजै जहाज नेपालका लागि उडिसकेको छ। योसँगै बुद्धसँग ७२ सिटे १३ वटा र ४२ सिटे तीनवटा जहाज हुनेछन्।पछिल्लो समय एयरलाइन्स कम्पनीहरू आर्थिक संकटमा परेर बन्द हुने अवस्थामा पुगिरहेको बेला बुद्धले भने नयाँ जहाज थपेको हो। चालू आर्थिक वर्षको बजेटमार्फत जहाज खरिदमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि नयाँ जहाज खरिदमा समस्या हुने भन्दै वायुसेवा सञ्चालक संघले सरकारको ध्यानाकर्षण गराइरहेका बेला बुद्धले भने नयाँ जहाज थपेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्