काठमाडौं, २५ साउन । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गतको सामाजिक सुरक्षा शाखाका अनुसार आव २०७५/७६ मा सामाजिक सुरक्षा भत्ता पाउने मानिसको सङ्ख्या २८ लाख २७ हजार पाँच सय १८ थियो।
गत आव २०७९/८० सम्म आइपुग्दा यस्तो सङ्ख्या ३८ लाख दुई सय ७७ जना पुगेको छ। यो तथ्याङ्क हेर्दा पछिल्लो पाँच वर्षमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको सङ्ख्या ९ लाख ७२ हजार सात सय ५९ जनाले बढेको छ।
सामाजिक सुरक्षा ऐन, २०७५ को पछिल्लो संशोधित व्यवस्थाअनुसार ज्येष्ठ नागरिक, आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, लोपोन्मुख जातिलाई सामाजिक सुरक्षा भत्ता पाउने अधिकार रहेको छ।
आव २०७६/७७ मा कूल भत्ता पाउने लाभग्राहीको सङ्ख्या ३० लाख ६२ हजार दुई सय २७ जना थियो। जुन अघिल्लो आवको तुलनामा २ लाख ३४ हजार ७ सय ९ जनाले बढी हो। त्यस्तै आव २०७७/७८ मा यस्तो भत्ता पाउने लाभग्राहीको सङ्ख्या ३४ लाख ५५ हजार चार सय ४६ जना पुगेको देखिन्छ। जुन त्यो भन्दा अघिल्लो आवको तुलनामा ३ लाख ९३ हजार दुई सय १९ ले बढी हो।
सामाजिक सुरक्षा भत्ता पाउन लाभग्राहीको सङ्ख्या अघिल्लो आव २०७८/७९ मा ३६ लाख २ हजार ७ सय ५ पुगेको देखिन्छ। जुन यसअघिको आवको तुलनामा १ लाख ४७ हजार २ सय ५९ ले बढी हो भने गत आवमा आव २०७८/७९ को तुलनामा १ लाख ९७ हजार ५ सय ७२ ले बढी हो।
लोककल्याणकारी राज्यको उद्देश्य प्राप्तिका लागि ‘कोखदेखि शोकसम्म सामाजिक सुरक्षा’ भन्ने नारा लिएर गर्भावस्थादेखि मृत्यु संस्कारसम्म जीवनचक्रका सबै चरणमा सामाजिक सुरक्षाको प्रत्याभूत गराउने सरकारको नीति छ। चालू आव २०८०र८१ का लागिमात्रै सरकारले ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
सरकारी वा सार्वजनिक पदमा वहाल रहेको व्यक्ति, सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका सङ्गठित संस्थाबाट नियमित रूपले पारिश्रमिक, निवृत्तीभरण, अवकाश सुविधा वा अन्य सुविधा पाइरहको व्यक्तिले भने सामाजिक सुरक्षा भत्ता पाउँदैनन्। भत्ता वितरणका लागि वास्तविक लाभग्राही पहिचानमा समस्या हुने गरेको, दोहोरो सुविधा लिने गरेको, लाभ लिनुपर्ने केहि व्यक्ति छुटेकोलगायतका समस्या विगत वर्षदेखि नै सुनिने गरेका छन्।











