काठमाडौं, ९ साउन । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा बिहिबार फैसला आउने भएको छ ।
गत २१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेर मुख्यमन्त्री नियुक्ती गरे पछि असन्तुष्ट पक्ष सर्वाेच्च पुगेका थिए । संविधान बिपरित सभामुखको हस्ताक्षर प्रयोग गरेर थापालाई प्रदेश परशुराम प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरे पछि सोको बिरुद्धमा सो प्रदेशको सबैभन्दा ठुलो दल नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको हाे ।
संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुन नसक्ने र १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताका हैसियतमा आफू मुख्यमन्त्री हुने कार्कीको दाबी थियो । तर, प्रदेश प्रमुख खापुङले सभामुखको हस्ताक्षरसहित आएको पत्रलाई मान्यता दिदै थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।











