काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले यस्तो चेतावनी दिनुभएकाे हाे । शुक्रबारको कार्यसूची प्रभावित हुन नदिने उल्लेख गर्दै उहाले अर्को प्रतिनिधिसभाको बैठकमा मिटरब्याज सम्बन्धी विधेयक ल्याउन आग्रह गर्नुभयाे ।
अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिन भित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ । त्यस अनुसार असार २० गतेसम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने थियो ।
तर, एमाले, रास्वपा र राप्रपाले सदन चल्न नदिएका कारण मिटरब्याज सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन विधेयक पारित हुन सकेको थिएन ।
विगतमा सदन चल्न नदिएर मिटरब्याज पीडितको विपक्षमा उभिएको भनी आफूहरुलाई आरोप लगाएको उल्लेख गर्दै रास्वपा सभापति लामिछानेले आफूहरु मिटरब्याज पीडितकै पक्षमा रहेको बताउनुभयाे ।
सरकारले विधेयक ल्याए १५ दिनभित्र पारित गर्ने गरी फास्ट ट्रयाकमा अगाडि बढाउन आफूहरु तयार रहेको उहाले बताउनुभयाे ।











