बजारमा ग्यासको हाहाकार, के भन्छ निगम ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । अहिले काठमाडौँ उपत्यकालगायत देशभर खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिएको छ । उपभोक्ताहरू एक सिलिन्डर ग्यास खरिदका लागि हप्तौँसम्म कुर्न बाध्य छन् ।

बजारमा ग्यास नपाएर सास्ती व्यहोर्नुपरेको भन्दै चौतर्फी गुनासो बढ्दा इन्धनको एकाधिकार रहेको नेपाल आयल निगम भने बजारमा ग्यासको कुनै अभाव नरहेको र आवश्यकताभन्दा बढी आयात भइरहेको दाबी गर्दैैछ ।

सरकारी निकायले आपूर्ति पर्याप्त रहेको तथ्याङ्क प्रस्तुत गरेकै समयमा उभोक्ता भने रित्तो सिलिन्डर बोकेर पसल–पसल धाउनुपर्ने अवस्था छ ।

आयल निगमको दाबी– मागभन्दा बढी ग्यास भित्रिरहेको छ

बजारमा ग्यास अभावको गुनासो व्यापक बनेपछि नेपाल आयल निगमले एलपीजी ग्यासको आपूर्ति अवस्थाबारे स्पष्ट पारेको छ । निगमका एलपीजी तथा एभिएशन विभागका निर्देशक विनितमणि उपाध्यायका अनुसार हाल उपभोक्ताको मागभन्दा बढी नै ग्यास भारतबाट आयात भइरहेको छ । बजारमा सहज आपूर्तिको व्यवस्था मिलाइएको उनले बताए ।

निगमका अनुसार सामान्य अवस्थामा मासिक ३२ देखि ३४ हजार मेट्रिक टन ग्यास आयात हुने गरेकोमा हाल त्यसलाई उल्लेख्य रूपमा बढाएर ४८ देखि ४९ हजार मेट्रिक टन पुर्‍याइएको छ । बजारमा ग्यासको माग उच्च रहेको बेला आपूर्ति थप सहज बनाउन भारततर्फबाट नियमित रूपमा ग्यास बुलेट भित्र्याइएको निगमको भनाइ छ ।

आपूर्तिको अवस्थाबारे प्रस्ट पार्दै निर्देशक उपाध्यायले भने, ‘अहिले दैनिक १०० बुलेटभन्दा बढी ग्यास नेपाल भित्रिरहेको छ । हालैमात्र एकै दिन १४३ बुलेट आयात भएको छ भने त्यसको अघिल्लो दिन १३३ बुलेट ग्यास आएको थियो । पछिल्लो १२ दिनको हिसाब हेर्दा सामान्य अवस्थामा दैनिक १ लाख ८ हजारदेखि १ लाख १० हजार सिलिन्डर बिक्री हुने गरेकोमा अहिले बढेर १ लाख ३० हजार सिलिन्डरसम्म बिक्री भइरहेको छ ।’

आधाबाट भरी सिलिन्डर बनाउँदा निम्तिएको समस्या

ग्यासको यो वर्तमान समस्याको जरा भने केही महिना अघिको निर्णयसँग जोडिएको छ । पश्चिम एसिया (मध्यपूर्व) मा चुलिएको द्वन्द्वका कारण ग्यास आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१ किलो) मात्र ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो । आधा सिलिन्डर ग्यास वितरण गर्दा धेरैभन्दा धेरै उपभोक्ताले थोरै भए पनि ग्यास पाइरहेका थिए ।

तर, ग्यासको आयात सहज भएसँगै निगमले गत असार ३१ गतेदेखि पुनः साविककै १४.२ किलोको भरी सिलिन्डर ग्यास वितरण सुरु गर्‍यो । आधा सिलिन्डरको बानी परेका र अभाव झेलिसकेका उपभोक्ताले भरी सिलिन्डर पाउन थालेपछि एक्कासि ठुलो सङ्ख्यामा ग्यास खरिद गर्न थाले । आधा सिलिन्डर पाउँदा बजारमा सहजता देखिए पनि भरी सिलिन्डर बिक्री सुरु भएलगत्तै बजारमा एकाएक ग्यास पाउन मुस्किल पर्न थाल्यो । यसले आपूर्ति शृङ्खलामा एक्कासि अत्यधिक चाप सिर्जना गरिदियो ।

‘भूमिगत डिलर’ र अनधिकृत विक्रेताका कारण अभाव

नेपाल आयल निगमले आयात पर्याप्त रहेको दाबी गरिरहँदा वास्तविक उपभोक्तासम्म ग्यास सहज रूपमा नपुग्नुको मुख्य कारण भने ग्यासको चुस्त वितरण प्रणाली नहुनु र ‘भूमिगत विक्रेता’हरूको बिगबिगी हुनु रहेको ग्यास बिक्रेता बताउँछन् ।

ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष चन्द्रबहादुर थापाका अनुसार बजारमा आधिकारिक डिलरबाहेक किराना पसल, तरकारी पसललगायत अनुमति नपाएका अनधिकृत ठाउँबाट समेत ग्यास बिक्री हुने गरेका कारण वास्तविक समस्या सिर्जना भएको हो । यस्ता अनधिकृत र भूमिगत डिलरहरूले ग्यासको नियमित वितरण प्रणालीलाई नै अस्तव्यस्त बनाइदिएका छन् ।

महासंघका पूर्वअध्यक्ष थापाले भने, ‘बजारमा ग्यासको आयातमा कुनै कमी छैन, तर अनधिकृत वा भूमिगत डिलरहरूका कारण वितरण प्रणाली व्यवस्थित हुन सकेको छैन । अर्कोतर्फ, उपभोक्ताहरूमा देखिएको सञ्चय गर्ने प्रवृत्ति र आवश्यकताभन्दा बढी सिलिन्डर घरमा थुपार्ने बानीले गर्दा वास्तविक रूपमा एउटा मात्र ग्यास आवश्यक पर्ने उपभोक्ताहरूले सास्ती व्यहोर्नुपरेको छ । यसलाई व्यवस्थित गर्न सरकारले विक्रेता प्रमाणीकरणलाई कडाइका साथ लागु गर्नुपर्छ ।’

माग उच्च हुँदा केही ठाउँमा समस्या देखिएको विभागको स्पष्टोक्ति

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा एलपीजी (खाना पकाउने) ग्यासको कुनै अभाव नरहेको स्पष्ट पारेको छ । बजार अनुगमनका क्रममा केही स्थानमा ग्यासको माग अत्यधिक बढेका कारण वितरणमा सामान्य दबाब देखिए पनि समग्रमा ग्यासको आपूर्ति सन्तोषजनक रहेको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार पछिल्लो समय बजारमा ग्यासको आयात र आपूर्तिमा वृद्धि गरिएको छ । गत वर्षहरूको तुलनामा हाल मासिक रूपमा आउने ग्यासको परिमाण बढेको उनले जानकारी दिए ।

केही डिपोहरूमा ग्यासको सिलिन्डर लिन भिडभाड बढेको र उपभोक्ताहरूले एकैपटक धेरै सिलिन्डर सञ्चित गर्न खोज्दा कृत्रिम अभावजस्तो महसुस भएको विभागको दाबी छ । भारतबाट ग्यास भरिने केही नाकाहरूमा सामान्य प्राविधिक तथा आन्तरिक समस्याका कारण केही दिन ढुवानीमा असर परे पनि अहिले अवस्था सामान्य बनिसकेको छ ।

साथै ग्यास अभाव हुनुको अर्को मुख्य कारण उपभोक्ताभित्र उब्जिएको असुरक्षाको भावना र सञ्चय (होर्डिङ) गर्ने बानी हो । बजारमा अलिकति मात्र पनि ग्यास अभावको चर्चा वा अफवाह फैलिनुका साथै उपभोक्ताहरू खाली सिलिन्डर बोकेर लाइनमा बस्न पुग्छन् ।

एउटै घरमा आवश्यकताभन्दा बढी (३ देखि ४ वटासम्म) सिलिन्डर जोहो गरेर राख्ने प्रवृत्तिले गर्दा बजारमा कृत्रिम दबाब सिर्जना भएको किराँतीको भनाइ छ । यसरी हुने अनावश्यक सञ्चयका कारण एउटामात्र सिलिन्डरमा निर्भर रहने साना उपभोक्ता, विद्यार्थी, डेरावाल सबैभन्दा बढी मारमा परेको विभागले जनाएको छ ।

बजारमा कालोबजारी वा ग्यास लुकाउने गरेको पाइएमा तत्काल कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ । साथै, उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढी ग्यास नथुपार्न र ढुक्क हुन विभागले आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्