आफ्नो कृतिको दोस्रो संस्करण बजारमा ल्याउन पाएकोमा लेखिका पोखरेलले खुसी व्यक्त गरिन् । उनले पुस्तकमा जागिरे जीवनमा भोगेका कठिनाइ, परिवारिक विचलन, क्यान्सरसँगको लडाइँलगायतका कुरालाई उतारेकी छन् ।
यो पुस्तकले महिलाहरुलाई आत्मविश्वास, अडिग र निडर हुन प्रेरित गर्ने उनको विश्वास छ । पुस्तकमा घरभित्रको कुरालाई पनि जस्ताको त्यस्तै लेखेकाले धेरैले आफूलाई हतोत्साही बनाउने कामसमेत गरेको उनको भनाइ छ ।
कलाकार मदनकृष्ण श्रेष्ठले बिना पोखरेलको पुस्तकले महिलाहरूलाई आत्मविश्वासी बनाउने धारणा राखे । श्रेष्ठले भने, ‘मानिसले आत्मवृतान्तमा जीवनका सबै कुरा खोल्नुपर्छ भन्ने लाग्छ ।
बिना पोखरेलले कुनै पनि कुरा नलुकाई किताबमा लेख्नुभएको छ । म उहाँको त्यो हिम्मतको सरहना र सम्मान गर्छु । यो किताबले समाजमा सकारात्मक सन्देश छर्नेमा विश्वस्त छु ।’
दुई सय पृष्ठको ‘जीवनका अनुभूतिहरू’ कृतिको पहिलो संस्करणलाई बराहारोहा इन्भेस्टमेन्ट ग्रुपले प्रकाशन गरेको थियो भने दोस्रो संस्करणको प्रकाशक साहित्यिक पत्रकार संघ हो ।
लेखिका बिना आफ्नो कृतिको तेस्रो संस्करण पनि चाँडै प्रकाशित हुनेमा विश्वस्त छिन् । कृषि विकास बैंकमा सामान्यस्तरको कर्मचारीबाट सेवा सुरु गरेकी पोखरेल सेवा निवृत्त हुँदा दशौं तहको विभागीय अधिकृत थिइन् ।
२८ फागुन २०१० मा न्युरोड, काठमाडौंमा जन्मिएकी पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट एमए गरेकी गरेकी छन् ।
उनी सनातम धर्म समितिअन्तर्गत मातृशक्तिको पूर्वअध्यक्ष, बराहारोहा इन्भेस्टमेन्ट ग्रुपको सञ्चालकलगायत विभिन्न संस्थाहरूसँग पनि आबद्ध छिन् । उनी पछिल्लो समय सन्तानसँग अमेरिकामा बस्दै आएकी छन् ।