काठमाडौं, १८ वैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितले अघि सारेका मागका बिषयमा सरकारसंग छलफल गर्ने बताउनुभएको छ ।
आज काठमाडौंको शान्तिबाटीकामा मिटरब्याजी पीडितसंग कुराकानी गर्दै भट्टराईले उनीहरुले अघि सारेका मागहरु जायज भएकाले यस बिषयमा सरकारसंग छलफल गर्ने बताउनुभएको हो । बाध्यतामा परि ऋण लिएका किसानहरुको घरखेत नै बेच्नुपर्ने गरि सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्ने उहाले बताउनुभयो ।
भट्टराइले मिटरब्याजी सम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदेशलाई बलियो बनाउनुपर्ने मिटरब्याजी पीडितको माग जायज भएको धारणा राख्नुभयो । जाली तमसुकका कारण मुद्धा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरु स्थगीत गराउदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने बिषयमा सरकारसंग कुरा गर्ने उहाले बताउनुभयो ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । यसअघि सरकारसंग भएको वार्ता असफल भएपछि मिटरब्याजी पीडित शान्तिबाटीकामा बस्दै आएका छन् ।











