ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेल्दै अंक बाँडे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, बैशाख १७ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार हिमालयन र आर्मीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । शनिबार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आइतबार भएको हो । शनिबार भारी वर्षा र चट्याङको कारण हिमालयन र आर्मीबीचको खेल ७१ औं मिनेटमा रोकिएको थियो । त्यहिँ समयबाट आइतबार दुई टोलीबीचको खेल भएको हो । खेलमा नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । आर्मीले १३ खेलमा २० अंक जोडेको छ ।

त्यस्तै एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा जावलाखेलले संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाड्नु परेको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर, खेलको ७३ औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए । संकटा र जावलाखेलबीच ५१ मिनेटपछिको खेल आइतबार भएको हो । शनिबार च्यासल मैदानमा भारी वर्षा र चट्याङको कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो । यस बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । संकटाले १३ खेलमा १६ अंक जाडेको छ ।

यस्तै आइतबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाईजले मनाङ मस्र्याङ्दीलाई ३–० गोल अन्तरले पराजित गरेको छ । चर्च ब्वाईजका लागि अनन्त तामाङले खेलको ४० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै मौसम सुब्बाले खेलको ५४ र साइमन लिम्बुले इन्जुरी टाइममा गोल गरेका थिए । जितसंगै चर्च ब्वाइजले १३ खेलमा २१ अंक जोडेको छ । पराजित मनाङको १३ खेलमा १५ अंक रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्