ओलीमाथि कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रहरीे नियन्त्रणमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १३ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीमाथि कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा श्रेष्ठले कोशी नामकरणमा विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन गर्ने र कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा गर्ने काम गरेको भन्दै ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिनुभएको हो ।

घटनलगतै प्रहरीले स्थीति नियन्त्रणमा लिएको र ओली आफ्नो कार्यक्रमस्थलतर्फ गएको उहाले बताउनुभयो । उहाले सरकार संविधानको प्रभावकारी कार्यान्वयनका लागि दृढ रहेको र संविधान अन्तर्गत लोकतान्त्रीक अधिकारको प्रयोग गर्न र शान्तिपूर्ण तवरबाट विचार राख्न छुट रहेको बताउनुभयो । तर कुनै पनि कोणबाट गैरसंवैधानिक गतिविधि गर्ने, नेता, जनताको कार्यक्रमलाई अवरोध गर्ने कामलाई छुट दिन नसकिने उहाले धारणा राख्नुभयो ।

त्यस्तै श्रेष्ठले मिटरब्याजी पीडितसँग गरिएको सम्झौतालाई कार्यान्वयन गर्दै यससम्बन्धी समस्या सदाका लागि अन्त्य गरिने बताउनुभयो । मिटरब्याजलाई फौजदारी कानुनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन मस्यौदा विधेयक मन्त्रिपरिद्ले स्वीकृत गरिसकेको र छिटै संसदमा पेश गरिने उहाले जानकारी दिनुभयो ।

उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले नागरिकता सम्बन्धी कानूनलाई सवैको सहमतिमा नै अघि बढाउनका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

श्रेष्ठले शान्तिप्रक्रियाका बाँकी कामलाई अघि बढाउनका लागि सवैको सहयोग आवश्यक रहेकाले सवैको भावना अनुसार नै संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानूनलाई अघि बढाइने जिकिर गर्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्