काठमाडौं, बैशाख १३ । अर्थमन्त्री डा.प्रकाश शरण महतले अर्थतन्त्रमा आएका केहि अप्ठेरा र दवावहरुलाई फुकाउनका लागि सरकार क्रियाशिल रहेको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय सभा बैठकमा बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका जिज्ञासाको जवाफ दिदै मन्त्री महतले बाहिर हल्ला चलेजस्तो अर्थतन्त्र धेरै खरावको अवस्था नरहेको तर अर्थतन्त्रमा आएका केहि अप्ठेरा र दवावहरुलाई फुकाउनका लागि सरकार क्रियाशिल रहेको बताउनुभएको हो । तरलता अभावका कारण ब्याजदर बढ्नु, पूँजीगत खर्च गर्ने क्षमता बढ्न नसक्नु र आर्थिक वर्षको अन्तमा मात्रै खर्च गर्ने प्रवृत्ति कायमै रहनुजस्ता समस्या रहेको महतले बताउनुभयो ।
उहाले अर्थतन्त्रमा देखिएका संरचनात्मक समस्यालाई पनि समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । अर्थतन्त्रमा देखिएका समस्याहरु समाधानका लािग यसअघि देखि नै सरकारको तर्फबाट भूमिका कमजोर देखिएको भन्दै अहिलेको सरकारले यस बिषयमा गम्भीर ध्यान दिएको उहाले बताउनुभयो ।
मन्त्री महतले आगामी बजेटमार्फत अर्थतन्त्र सुधारका लागि धेरै काम गर्नका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाले तलव भत्ता नै खुवाउन नसक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । अहिलको साधारण खर्च पूँजीगत खर्च र राजस्व भन्दा बढि देखिएको यसलाई पनि सुधार गर्नुपर्ने उहाले बताउनुभयो ।
‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको हो ।











