काठमाडौं, बैशाख १२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उपनिर्वाचनको परिणामका बिषयमा सवैले पार्टीभित्र समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।
मंगलबार संघीय संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनका जनताको झुकावहरु किन परिवर्तन भइरहेको भनेर विश्लेषण गरेर आफुमा भएको कमी कमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो । घटनाक्रममा बिषयमा गम्भीर नभए र कमी कमजोरी सुधार गर्न नसके जनताले विश्वास गर्न नसक्ने उहाले बताउनुभयो । अध्यक्ष नेपालले निर्वाचनपछि सवैको परिक्षाको घडी सुरु भएको भन्दै पटक पटकको परिक्षा उतिर्ण हुन नसके जनताको विश्वास कुनै दिन पनि गुम्न सक्ने जिकिर गर्नुभयो ।
त्यस्तै नेकपा एमालेका सांसद योगेश भट्टराईले उपनिर्वाचनमा जनताले दिएको मतलाई सम्मान गर्ने बताउनुभयो । रास्वपा कुनै विद्रोही पार्टी नभई संवैधानिक व्यवस्था मानेर गठन भएको पार्टी भएकाले विद्रोही पार्टीले जित्यो भन्ने परिभाषा गलत हुने उहाले बताउनुभयो । उहाले संविधान र व्यवस्था मानेर कुनै दल आउछ भने निषेध नभइ स्वागत गर्नुपर्ने धारणा राख्नुभयो । भट्टराईले कुनै पनि दलको परिणामले अर्को दललाई सकारात्मक प्रभाव पार्ने भएकाले ठूला दलका सन्दर्भमा रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाउने अर्थमा लिनुपर्ने पनि बताउनुभयो ।
त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले उपनिर्वाचनको परिणामका बिषयमा पार्टीभित्र गम्भीर छलफल गरेर सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाले कांग्रेसप्रति जनताको गरेको विश्वासलाई कम हुन नदिन गम्भीर भएर अघि बढ्नुको बिकल्प नरहेको उल्लेख गर्नुभयो ।
खतिवडाले तनहुमा कांग्रेसले जित्ने अपेक्षा गरिएपछि त्यसो हुन नसकेको भएपनि जनताको निर्णयलाइ आत्मसाथ गरेरै अघि बढ्ने बताउनुभयो ।











