काठमाडौं, बैशाख १२ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमा नै काम नगर्नेसंग ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियामा सरकार अघि बढेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री ज्वालाले बिभिन्न आयोजना निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै समयमा नै काम नगर्नेसंग ठेक्का सम्झौता रद्द गर्ने र समयमै काम गर्नेलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको बताउनुभएको हो ।
उहाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पु¥याउने राष्ट्रिय गौरव र रुपान्तकारणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको धारणा राख्नुभयो । राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजनाहरु अहिले जुन गतिमा काम हुनुपर्ने हो , त्यो गतिमा हुन नसकेकेको स्वीकार गर्दै उहाले सरोकारवालाहरुसंग छलफल गरि तीव्रताका साथ अघि बढाउन निर्देशन दिइसकेको बताउनुभयो ।
उहाले आगामी आर्थिक बर्ष सुरु हुनुभन्दा पहिले नै हुम्लाको सिमिकोटसम्म यातायात पुराउने गरि काम अघि बढाइसकेको जानकारी दिनुभयो । मन्त्री ज्वालाले यातायात व्यवस्था सुधारको प्रयत्न अगाडि बढाइएको भन्दै सवारी चालक अनुमतिपत्र लिन लाइन लाग्नुपर्ने अवस्थालाई केही समयभित्र अन्त्य गरिने बताउनुभयो । अनुमतिपत्र नवीकरणको अवधि १० वर्षमा राख्ने व्यवस्था गर्न कानुन संशोधन गर्न लागिएको उहाँको भनाइ छ ।
त्यस्तै इम्बोस नंवर प्लेटलाई पनि सहजीकरण गरिएको उहाले जानकारी दिनुभयो । उहाले नेपालमा नै उत्पादन भएका सवारी साधन दर्ताका लागि कार्यविधि संशोधनको तयारी गरिएको बताउनुभयो ।











