
काठमाडौं। कक्षा १२ पास गर्नलाई ३५ प्रतिशत अंक ल्याउनैपर्ने नियम बनेको छ। सरकारले १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू गर्ने भएको हो।
सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भन्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो।
तर कोरोनाका कारण विद्यार्थीको सिकाइमा प्रभाव परेको भन्दै एसईईको नतिजामा अक्षरांकन ग्रेडिङ विधि नै लागू भएको थियो।
यद्यपी कक्षा १२ मा भने निर्देशिका लागू हुनेछ। परीक्षा नियन्त्रण कार्यालय यस विषयमा भन्छ, ‘कक्षा १० को पुरानो पाठ्यक्रम भएकाले पुरानो विधि अपनाइएको हो। कक्षा १२ को नयाँ पाठ्यक्रम भएकाले निर्देशिका अनुसार नै हुन्छ।’
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसारमा सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन्। प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ।
सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ भन्दा कम अङ्क ल्याएमा एनजी नन ग्रेडेड लेखिनेछ। त्यस्तो अवस्थामा त्यस्ता विद्यार्थीले माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन्।