एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई दियो ३ सय ११ रनको लक्ष्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ वैशाख । आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेलमा नेपालले ओमानलाई जितका लागि ३ सय ११ रनको लक्ष्य दिएको छ ।

एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आफ्नो दोस्रो खेलमा नेपालले ३ सय १० रन बनाएको हो ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनाएको हो ।

नेपालका लागि अलराउन्डर कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १ सय ८ रनको शतकीय ईनिङ खेले । उनले ५९ आफ्नो शतक पूरा गरेका थिए ।

सुरुआत राम्रो हुन नसकेको नेपालका मध्येक्रमका ब्याटरहरुले राम्रो साझेदारी गरेर नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए ।

टिमको स्कोर शुन्य रनमा रहँदा दुवै ओपनरलाई गुमाएको नेपालले २८ औं बलमा रनको खाता खोलेको थियो ।

तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भिम ३३ रनमा आउट भए ।

पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए ।

सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए । करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।

यस्तै। ओमानका लागि आयान खानले २ तथा बिलाल खान,कलिमुल्लाह खान,जिशान मकशुद,फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्