काठमाडौं, ५ वैशाख । राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले एफसी खुमलटारलाई पराजित गरेको छ ।
आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा सरोज तामाङ, सन्जिब विष्ट र मोहित गुरुङले एक एक गोल गरे भने खुमलटारका श्यामु मुर्मुले एक गोल फर्काए ।
खेलको ६५ औं मिनेटमा सरोजले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८२ औं मिनेटमा सन्जिबले गोल गर्दै एनआरटीको अग्रता २–० को बनाए ।
खेलको ८५ औं मिनेटमा मोहितले गोल गर्दै एनआरटीलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा खुमलटारका श्यामु मुर्मुले गोल गरेपनि एनआरटी ३–१ ले विजयी भयो । जितसँगै एनआरटी १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । खुमलटार १० अंकका साथ ११ आै स्थानमा छ ।











