भक्तपुर, २६ चैत । भक्तपुरको एउटा कलेजका प्राध्यापक ५० वर्ष सेवा गरेर बिदाइ हुनुभएकाे छ । उहालाई कलेजले आज कार्यक्रम गरि बिदाइ दिएको छ ।
प्राध्यापक सुदर्शन कारञ्जित ५० वर्षको अध्यापन पश्चात नियमित अध्यापन पेसाबाट उमेरहदका कारण बिदा लिनुभएकाे हाे । मुनाफारहित सामाजिक संस्थाको रूपमा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता गरी सञ्चालन गरिएको नेपाल इन्जिनियरिङ कलेजबाट उहालाई बिदाइ गरिएको हो ।
बिदाइ कार्यक्रममा प्राध्यापक सुदर्शन कारञ्जितलाई नियमित सेवाबाट कलेजका प्राचार्य, सहायक प्राचार्य, विभागीय तथा शाखा प्रमुखहरू तथा शिक्षक कर्मचारी प्रतिनिधिहरूले दोसल्ला तथा प्रमाण–पत्रसहित बिदाइ गरिएको थियो ।
प्राध्यापक कारञ्जितको अध्यापन कार्य २०३० सालमा ललितपुरको एउटा माध्यमिक स्कूलमा प्रारम्भ भएको थियो । बेलायतको द सिटी युनिभर्सिटिबाट सन् १९८७ मा स्नातकोत्तर उपाधि हासिल गरी लगभग १८ वर्ष राष्ट्रिय कम्प्युटर केन्द्र सिंहदरबारमा काम गरिसकेपछि उनी पुनः शिक्षण पेशामा फर्किएको थियो । पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपाल इन्जिनियरिङ कलेजमा सञ्चालित पिजिडिसिए कार्यक्रममा उहा सन् २००० जनवरी १६ मा सहप्राध्यापकको रूपमा आवद्ध भएपछि लगातार २३ वर्ष सोही कलेजमा स्नातक तथा स्नातकोत्तर तहका कम्प्युटर इन्जिनियरिङ सम्बन्धी विभिन्न विषयहरू अध्यापन गराइरहनुभएकाे थियाे ।
सन् २००२ मा उहा प्राध्यापकमा पदोन्नति हुनुभएकाे थियाे । उक्त सेवा अवधिमा उनले विभागीय प्रमुख भई सन् २००२ मा र दुई पटक विद्यार्थीहरूको काउन्सेलरकोरूपमा काम गर्नुभएकाे थियाे । नियमित अध्यापन बाहेक कलेजका विभिन्न समितिहरूमा योगदान गर्दै आएका प्राध्यापक कारञ्जितले दुई वर्ष अगाडि कलेजको सहायक प्राचार्य छनौटको मापदण्ड तयार पनि गर्नुभएकाे थियाे ।











