२० वैशाख, काठमाडौं । काठमाडौँको पुरानो बानेश्वरस्थित देविनगरमा एक घरबाट बरामद गरिएका सैनिक पोसाक र शंकास्पद सामग्रीहरू चलचित्र छायांकनका लागि प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
इन्द्र राईको घरमा बोरामा राखेको अवस्थामा सेनाको पोसाक र हतियार फेला परेको भन्दै सामाजिक सञ्जालमा सूचना फैलिएपछि नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार ती सामग्रीहरू ‘शुभ लाभ फिल्म प्रोडक्सन प्रा.लि.’ ले चलचित्र तथा श्रव्य–दृश्य सामग्री निर्माणका लागि प्रयोग गर्दै आएको पाइएको छ ।
बरामद सामग्रीहरूमा नेपाली सेना र नेपाल प्रहरीको पोसाक, हेल्मेट, दर्ज्यानी चिन्ह र नक्कली हतियार रहेका छन् । प्रहरीले घटनाबारे थप सत्यतथ्य पुष्टि गर्ने कार्य भइरहेको जनाउँदै आधिकारिक पुष्टि नभएसम्म सामाजिक सञ्जालमा अप्रमाणित र भ्रमपूर्ण सूचना नफैलाउन सर्वसाधारणमा आइतबार एक सूचनामार्फत अनुरोध गरेको छ । राई उनै व्यक्ति हुन् जो आइतबार अनामनगरस्थित ७ तले घरमा डोजर चलाइएका धरधनी हुन् ।











